काठमाडौं । सांसद आशिका तामाङले बजारमा ग्यास उपलब्ध हुँदाहुँदै पनि व्यवसायीले उपभोक्तालाई बिक्री नगरेको आरोप लगाउँदै सरकारप्रति आक्रोश व्यक्त गरेकी छन्।
उनले आफूलाई दिनमा हजारौँ फोन आउने गरेको भन्दै पसलमा ग्यास हुँदाहुँदै पनि व्यापारीले उपभोक्तालाई नदिएको गुनासो जनताले गरिरहेको बताइन्।
‘मलाई दिनमा हजार पटक कल आउँछ—आशिका दिदी, पसलमा ग्यास छ, व्यापारीले दिँदैनन्,’ उनले भनिन्, ‘यो त लासामा सुन छ भनेजस्तो भयो। कान बुच्चै भनेजस्तो भएन।’
ग्यासको कृत्रिम अभाव सिर्जना गरेर सर्वसाधारणलाई दुःख दिने प्रवृत्तिमाथि प्रश्न गर्दै तामाङले ‘यो देशमा सरकारभन्दा ठूलो माफिया हो रु’ भन्दै सरकारलाई जवाफ मागिन्।
पसलमा ग्यास हुँदाहुँदै जनता खाना पकाउन नपाएर भोकै बस्नुपर्ने अवस्था आउनु गम्भीर विषय भएको उनको भनाइ छ। जनताले आफूहरूलाई संसदमा पठाउनुको उद्देश्य नै यस्ता समस्याको समाधान खोज्नु भएको उनले बताइन्।
‘पसलमा ग्यास छ, जनता भोकै बस्नुपर्ने दिन हेर्नलाई जनताले हामीलाई यहाँ पठाएका होइनन्,’ उनले भनिन्।
उनले बजारमा वास्तवमै ग्यासको अभाव भए सरकारले स्पष्ट रूपमा ‘ग्यास छैन’ भनेर आजै घोषणा गर्नुपर्ने मागसमेत गरिन्।
‘ग्यास छैन भने सरकारले जनतालाई आजै भन्न सक्नुपर्यो—दाउरा खोजेर भात पकाएर खाऊ भन्न सक्नुपर्यो,’ तामाङले भनिन्।
हरेक महिना ग्यास अभाव हुने र समस्या समाधान गर्नुको सट्टा मन्त्री मात्र परिवर्तन गर्ने प्रवृत्तिप्रति पनि उनले व्यंग्य गरिन्।
‘महिनैपिच्छे ग्यास अभाव भयो भनेर मन्त्री मात्र फेर्ने हो भने ग्यासको भन्दा मन्त्रीको लाइन लामो हुन्छ,’ उनले टिप्पणी गरिन्।
ग्यास आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न, बजार अनुगमन प्रभावकारी बनाउन र पसलमा रहेको ग्यास उपभोक्तालाई सहज रूपमा उपलब्ध गराउन सरकारले तत्काल कदम चाल्नुपर्ने उनको माग छ।






प्रतिक्रिया दिनुहोस्