Skip to content

नेशनल लाइफले उत्कृष्ट अभिकर्तालाई सम्मानसँगै सम्पत्ति शुद्धीकरण, एआई र डिजिटल मार्केटिङसम्बन्धी प्रशिक्षण

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान तथा चेयरपर्सन क्लब सदस्यता वितरण गर्दै वार्षिक चेयरपर्सन क्लब कार्यक्रम सम्पन्न गरेको छ।

भैरहवास्थित होटल सिद्धार्थ भिलासामा आयोजित दुई रात तीन दिनको कार्यक्रममा आर्थिक वर्ष २०८२र८३ का लागि निर्धारित लक्ष्य पूरा गरी चेयरपर्सन क्लबमा छनोट भएका अभिकर्ताका साथै कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारी गरी ५६५ जनाको सहभागिता रहेको थियो।

कार्यक्रमको सुरुवात भोटेकोशीमा आएको भीषण बाढी तथा त्यसबाट उत्पन्न प्राकृतिक विपद्का कारण घाइते तथा बिरामी भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै तथा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारणबाट गरिएको थियो।

कार्यक्रममा कम्पनीकी चेयरपर्सन प्रेमाराज्य लक्ष्मी सिंहले पानसमा दीप प्रज्वलन गरी चेयरपर्सन क्लब कार्यक्रमको औपचारिक उद्घाटन गरेकी थिइन्। उद्घाटन मन्तव्यका क्रममा उनले कम्पनीको मेरुदण्डका रूपमा कार्यरत अभिकर्ताहरूलाई थप व्यावसायिक र दक्ष बनाउने उद्देश्यले सीप तथा क्षमता विकास र व्यावसायिकता अभिवृद्धिका लागि कम्पनीले निरन्तर सहयोग र सहकार्य गर्ने बताइन्।

अभिकर्ता सञ्जालमा नेतृत्व विकास महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले यसका लागि कम्पनीले यथाशक्य लगानी गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन्।

त्यसैगरी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले आर्थिक वर्ष २०८२र८३ मा कम्पनीले हासिल गरेको ऐतिहासिक व्यावसायिक उपलब्धि नेशनल लाइफ परिवारको सामूहिक सफलता भएको बताए। नयाँ आर्थिक वर्षको सुरुवातसँगै कम्पनी अझ स्पष्ट लक्ष्य, मापनयोग्य रणनीति र उच्च व्यावसायिक प्रतिबद्धताका साथ अघि बढिरहेको उल्लेख गर्दै उनले अभिकर्ता सञ्जाललाई थप मजबुत बनाउने र ग्राहक सेवाको गुणस्तर सुधार गर्ने विषयलाई कम्पनीले प्राथमिकतामा राखेको बताए।

कार्यक्रममा चेयरपर्सन क्लब सदस्यता वितरण गर्नुका साथै सञ्जाल तथा आफ्नो कोडअन्तर्गत नेपालभर प्रथम, द्वितीय र तृतीय हुने अभिकर्ताहरूलाई सम्मान गरिएको थियो। त्यस्तै, समूहगत व्यवसायमा प्रथम हुने अभिकर्ता, सेन्चुरियन क्लब, नेशनल स्टार, नेशनल सुपरस्टार तथा लगातार १० वर्षसम्म चेयरपर्सन क्लबमा छनोट हुन सफल अभिकर्तालगायत उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने अभिकर्ताहरूलाई चेयरपर्सन प्रेमाराज्य लक्ष्मी सिंहले विशेष सम्मान गरेकी थिइन्।

कार्यक्रममा सहभागी अभिकर्ताहरूको ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न विषयमा प्रशिक्षणसमेत प्रदान गरिएको थियो।

सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रशिक्षण दिँदै नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदम प्रसाद साडारीले बीमालाई समेत माध्यम बनाएर सम्पत्ति शुद्धीकरण गर्ने गतिविधि बढ्न सक्ने भएकाले शंकास्पद गतिविधिको सूक्ष्म निगरानी, आवश्यक पहिचान तथा प्रचलित कानुनी व्यवस्थाको पालना गर्न बीमा व्यवसायमा संलग्न सबै पक्ष सचेत र सजग हुनुपर्ने बताए।

त्यसैगरी, प्रशिक्षक विश्वराज पौडेलले कृत्रिम बुद्धिमत्ता (एआई) का विभिन्न प्रयोगात्मक उदाहरण प्रस्तुत गर्दै बीमा व्यवसायमा एआई प्रविधिको प्रयोग गर्न सकिने सम्भावनाबारे प्रशिक्षण दिएका थिए। उनले ग्राहकसँगको सम्पर्क, सामग्री निर्माण, व्यावसायिक योजना तथा सूचना व्यवस्थापनलगायतका क्षेत्रमा एआईको प्रभावकारी उपयोग गर्न सकिने बताए।

अर्का प्रशिक्षक संजोग कोइरालाले डिजिटल युगमा डिजिटल माध्यमको प्रभावकारी प्रयोगबाट बीमा व्यवसाय विस्तारमा उल्लेखनीय लाभ लिन सकिने बताए। डिजिटल प्लेटफर्म प्रयोग गर्दा प्रचलित कानुन तथा नियामकीय व्यवस्थाको पूर्ण पालना गर्दै सत्यतथ्य सूचना र स्वीकृत सामग्री मात्र सार्वजनिक गर्नुपर्नेमा उनले जोड दिए। भ्रामक समाचार, गलत सूचना वा गलत भाष्य सिर्जना गर्ने कार्यले कानुनी जटिलता निम्त्याउन सक्ने भएकाले यसतर्फ विशेष सजग रहनुपर्ने उनको भनाइ थियो।

चेयरपर्सन क्लबमा छनोट भएका अभिकर्ताहरूले वर्षभर निरन्तर मेहनत, अनुशासन र उत्कृष्ट व्यावसायिक प्रदर्शन आवश्यक पर्ने भएकाले कार्यक्रममा सहभागी हुन पाउनु गौरवको विषय भएको बताए। वर्षभर गरेको मेहनतको परिणामस्वरूप प्राप्त सम्मानले आफ्नो परिश्रमले सार्थकता पाएको अनुभूति भएको उनीहरूको भनाइ थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima