Skip to content

समाचार लेखेकै आधारमा पत्रकारलाई नियन्त्रणमा लिइएको घटनाप्रति डीएमएनको आपत्ति

nabil
global ime

काठमाडौं । समाचार लेखेकै आधारमा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई सादा पोशाकका प्रहरीले कार्यकक्षमै पुगेर नियन्त्रणमा लिएको घटनाप्रति डेमोक्रेसी मिडिया नेटवर्क (डीएमएन) ले गम्भीर आपत्ति जनाएको छ।

डीएमएनका अध्यक्ष शिरोमणि ढुङ्गानाले विज्ञप्ति जारी गर्दै पत्रकारहरूलाई नियन्त्रणमा लिएर पछि छाडिएको समाचारप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

घटनाबारे सम्बन्धित निकायबाट विस्तृत र आधिकारिक जानकारी आउन बाँकी रहे पनि प्रारम्भिक समाचारहरूमा समाचारको स्रोत पत्ता लगाउने उद्देश्यले पत्रकारहरूलाई नियन्त्रणमा लिइएको उल्लेख भएको डीएमएनले जनाएको छ।

लोकतान्त्रिक समाजमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अनिवार्य सर्त भएको उल्लेख गर्दै डीएमएनले सार्वजनिक महत्त्वका विषयमा समाचार लेख्ने पत्रकारको स्रोत संरक्षण गर्ने अधिकार विश्वव्यापी रूपमा स्थापित मान्यता भएको जनाएको छ। समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु तथा समाचारको स्रोत खुलाउन दबाब दिनु अनुचित हुने संस्थाको भनाइ छ।

यस्ता घटनाले पत्रकार तथा सञ्चारमाध्यममाथि राज्यको सूक्ष्म निगरानी बढेको संकेत गर्ने भन्दै डीएमएनले राज्य नियन्त्रित वातावरणमा पत्रकारिता अभ्यास गर्नुपर्ने अवस्था लोकतान्त्रिक समाजका लागि स्वीकार्य नहुने उल्लेख गरेको छ।

पत्रकारलाई स्रोत खुलाउन दबाब दिइएमा भविष्यमा खोज पत्रकारितासहित समग्र पत्रकारिता क्षेत्र प्रभावित हुने र पत्रकारलाई सूचना दिने स्रोतहरूमा डर तथा त्रास उत्पन्न हुने डीएमएनको चिन्ता छ। यसले सार्वजनिक महत्त्वका विषयमा नागरिकको सूचनामा पहुँच घटाउनुका साथै शक्तिशाली व्यक्तिहरू संलग्न विषयमा सूचना प्राप्त गर्ने सम्भावनासमेत संकुचित पार्ने विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरी, सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति असहमति वा प्रश्न भए त्यसको परीक्षण र निरूपण गर्ने कानुनी विधि र प्रक्रिया रहेको डीएमएनले जनाएको छ। ती विधि अपनाउनुको सट्टा राज्यका निकायबाटै धरपकडको शैली अपनाउनु आपत्तिजनक भएको संस्थाको ठहर छ।

डीएमएनले पत्रकारहरूलाई नियन्त्रणमा लिइएको घटनाबारे ढिलाइ नगरी निष्पक्ष र पारदर्शी छानबिन गर्न तथा सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। साथै, आगामी दिनमा यस्ता घटना नदोहोरिने सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T