Skip to content

ट्रम्पलाई मार्ने धम्कीसहित तेहरानमा विशाल होर्डिङ बोर्ड

nabil
global ime

काठमाडौं । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्ने धम्कीसहितका विशाल होर्डिङ बोर्ड र ब्यानरहरू मङ्गलबार राजधानी तेहरानका विभिन्न स्थानमा सार्वजनिक गरेको छ ।

यसले राजधानीमा देखिँदै आएको सरकार समर्थित राजनीतिक प्रचारलाई थप आक्रामक बनाएको छ ।

तेहरानको व्यस्त एन्गेलाब स्क्वायरमा राखिएको एउटा विशाल होर्डिङ बोर्डमा ‘हामी ट्रम्पलाई मार्नेछौँ’ भन्ने सन्देश लेखिएको छ । त्यसमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई जेलभित्र टाउको निहुराएर बसेको अवस्थामा चित्रण गरिएको छ ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्दा सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि तेहरानका विभिन्न स्थानमा ट्रम्पको आलोचना र बदलाको चेतावनीसहितका होर्डिङ बोर्ड तथा प्रचार सामग्री राखिँदै आएका छन् ।

यसैबीच, पछिल्ला दिनहरूमा तेहरान र वासिङ्टनलाई वार्ताको टेबलमा ल्याउन नयाँ कूटनीतिक प्रयास भइरहेका छन् । यसको उद्देश्य मध्यपूर्वमा फैलिएको युद्ध पुनः चर्किन नदिनु हो । उक्त युद्धका कारण विश्वभर मूल्यवृद्धि भएको छ ।

अमेरिकामा मङ्गलबार महत्वपूर्ण मध्यावधि निर्वाचन हुँदै गर्दा ट्रम्पले इरानसँग सम्झौता हुन सक्ने बताउनुभएको छ । इरानसँगको युद्धलाई लिएर अमेरिकी मतदातामा असन्तुष्टि बढिरहेका बेला निर्वाचन हुन लागेको हो ।

उत्तरी तेहरानको व्यस्त ताज्रिस स्क्वायरमा आयोजित खुला प्रदर्शनीमा पनि ट्रम्पका विभिन्न चित्रहरू राखिएका छन् । तीमध्ये एउटा चित्रमा उनको अनुहार रगतले लतपतिएको अवस्थामा भुइँमा देखाइएको छ भने अर्को व्यक्तिको खुट्टा उहाँको टाउकोमाथि रहेको चित्रण गरिएको छ ।

अर्को चित्रमा ट्रम्पको अनुहार बमले छोपिएको देखाइएको छ । उक्त चित्र बेल्जियमका अतियथार्थवादी चित्रकार रेने माग्रिटको सन् १९६४ को चर्चित चित्र ‘द सन अफ म्यान’बाट प्रेरित देखिन्छ ।

प्रदर्शनी नजिकै जेलको कोठाजस्तो संरचना पनि बनाइएको छ । त्यहाँ ट्रम्पको भेष धारण गरेका एक कलाकार दिनभर बस्ने गर्छन् । त्यसको छेउमा राखिएको पर्दामा इरानमाथि अमेरिकी आक्रमणबाट भएको क्षतिका दृश्यहरू देखाइन्छन् ।

इरानले युद्धका क्रममा अमेरिकाले विद्यालय र विवाह समारोहजस्ता सर्वसाधारणका क्षेत्रलाई जानाजानी निशाना बनाएको आरोप लगाउँदै आएको छ । ती आक्रमणमा महिला र बालबालिकासहित दर्जनौँ मानिसको मृत्यु भएको इरानको दाबी छ ।

सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानका सार्वजनिक स्थलमा सरकारले प्रायोजन गरेका विशाल होर्डिङ बोर्ड र भित्तेचित्र राख्ने परम्परा रहँदै आएको छ । यस्ता प्रचार सामग्रीमार्फत सहयोगीहरूलाई सम्मान गर्ने, सैन्य व्यक्तित्वहरूको प्रशंसा गर्ने र विशेषगरी अमेरिका तथा इजरायलजस्ता विरोधी राष्ट्रलाई राजनीतिक सन्देश दिने गरिन्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T