वि.सं. २०१३ वैशाख १४ गते तदनुसार सन् १९५६ अप्रिल २६ मा स्थापित राष्ट्र बैंकको पुँजी सरकारले १ करोड रूपैयाँ तोक्नुभन्दा झण्डै आठ महिनाअघि सन् १९५५ अगष्ट १ का दिन नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध कायम भएको हो ।
सन् १९४९ अक्टोबर १ मा जनगणतन्त्र चीन स्थापना हुनु र दुई वर्षपछि नेपालमा १०४ बर्षीय पारिवारिक राणा शासनको पतन हुनु एउटा गजबको सँयोग थियो ।
सन् १९५६ को अक्टोबरमा दुई मुलुकबीच सम्पन्न पहिलो आर्थिक सहयोग सम्झौतालाई प्रधानमन्त्री टंकप्रसाद आचार्यसहित परराष्ट्रमन्त्री चुडाप्रसाद शर्मा र अर्थ मामिला प्रमुख गुञ्जमान सिंहले आधिकारिकता दिएका थिए ।
नेपालको सदर मुलुकी खानाबाट जारी नेपाली नोटको प्रयोग राजधानी काठमाडौंलगायत सीमित पहाडी जिल्लामा मात्रै हुन्थ्यो अधिकांश भूभागमा भारतीय नोट र सिक्काको चलनचल्ती थामिनसक्नु थियो । यस्तै बेला प्रधानमन्त्री चाउ एनलाई सन् १९५७ मा नेपालको पहिलो भ्रमणमा आउनुभयो ।
हिन्दुहरूको आराध्यदेव पशुपतिनाथको मन्दिरमा विदेशी अन्य धर्मावलम्बीहरूलाई प्रवेश निषेध छ । तर, त्यसबेला चिनियाँ पाहुनालाई मन्दिर प्रवेशका लागि विशेष अनुमति दिइयो । त्यहाँ चाउ एनलाईले पाँच सय भारतीय रूपैयाँ भेटी चढाउनु भयो । त्यतिबेला एक अमेरिकी डलरको विनिमय दर भारू ४.२६ थियो भने भारतमा सुन प्रतितोला एक सयको हाराहारीमा पाइन्थ्यो ।
यस हिसाबले हेर्दा चौ एन्लाईले चढाइएको भेटीले पाँच तोला सुन आउँथ्यो । अहिलेको बजार भाउसँग तुलना गर्दा त्यसको मूल्य भारू पाँच लाख हुन्छ ।
एउटा सार्वभौम मुलुकको प्रसिध्द मन्दिरमा अर्को मुलुकका प्रधानमन्त्रीले भारतीय रूपैयाँ चढाएको खबरले निकै चलाख राजालाई चसक्क छुनु स्वाभाविक थियो । भनिन्छ, ‘त्यसलगत्तै राजाले रणनीतिक रूपमा नेपाली नोट चलाउन प्रधानमन्त्री, अर्थमन्त्री र पहिलो गभर्नरलाई निर्देशन दिए ।
नेपालमा भारतीय मुद्रा प्रयोग गर्नुपर्ने बाध्यतालाई राजाले प्रधानमन्त्री आचार्य र राष्ट्र बैंकका गभर्नर हिमालयसमशेर राणाले पनि मनन गरिसकेका थिए । त्यसपछि नै हो नेपालभर केन्द्रीय बैंकले शाखा, प्रशाखा, सटही काउण्टर खोलेर भारूको सट्टा नेपाली रूपैयाँको प्रचलन बढाएको ।
विशेषगरी भारतसँग सीमाना जोडिएको तराईका अधिकांश जिल्लामा नेपाली नोट चलाउने अभियान नै थालिएको राष्ट्र बैंकका विभिन्न अभिलेखमा पढ्न पाइन्छ ।
चीनसँग आर्थिक सहयोग सम्झौता भएपछि चीनले पहिलो पटक औपचारिक रूपमा नेपाललाई १० करोड नेपाली रूपैयाँ बराबरको सहयोग उपलब्ध गराएको पनि सोही ताका हो ।
भूतपूर्व अर्थ तथा परराष्ट्रमन्त्री, गभर्नर र राजदूत रहिसकेका डा. भेषबहादुर थापाका अनुसार चीनले उपलब्ध गराएको सोही नगदबाट राष्ट्र बैंकको जग हालियो ।
थापाको पुस्तक ‘राष्ट्र-परराष्ट्र को पृष्ठ ८३ मा लेखिएको छ, ‘त्यस कालखण्डमा भारत-चीनबीच शत्रुतापूर्ण सम्बन्ध थियो । चीनले १० करोड रूपैयाँ सहयोग दिनेबित्तिक्कै भारत पनि १० करोड दिन तम्सिन्थ्यो । त्यो बेला चीनले नगद उपलब्ध गरायो । वास्तवमा राष्ट्र बैंक शुरू भएको पनि त्यही रकमबाट हो ।’
यसबाट त्यतिबेला बैंकको पुँजीवापत छुट्याइएको एक करोड र बेलायतको डे ला रू कम्पनीमा छापिएका नेपाली नोटको लागि आवश्यक जमानतवापत चीनले उपलब्ध गराएको सोही विदेशी मुद्रा प्रयोग गरिएको थियो ।
एक दशकदेखि विभिन्न दरका नेपाली नोट तथा सिक्काको छपाई तथा टकमारी चिनियाँ सरकारी कम्पनीले गर्दै आएको छ । एक सय पाँच वर्षअघि स्थापित चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले अन्य मुलुकसँगै आफ्नै चिनियाँ रनमिनपी नोट र सिक्काको छपाई तथा टकमारीसमेत गर्छ । सीमाना जोडिएको मुलुकमा नेपाली नोट छाप्दाको लागत निकै कम हुने गरेको छ ।
पहिलो खेप सन् २०१५ मा छापेर २०१६ देखि प्रचलनमा ल्याइएको नेपाली एक सय रूपैयाँ जस्तै अन्य दरको लागत हालसम्म आइपुग्दा निकै कम भएको छ । त्यहाँ छापिने नोटको गुणस्तर अन्यत्रको भन्दा राम्रो रहेको नेपाल रास्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।
यसरी पहिलो खेपको नगद सहयोगबाट शुरू भएको दुई मुलुकबीचको आर्थिक सहयोग विस्तार भएर चीन नेपालको आर्थिक विकासमा सबैभन्दा नजिकको मित्र बनेको छ । अहिले आएर वैदेशिक व्यापारतर्फ चीन नेपालका लागि सामान आयात गर्ने मुलुकहरूमा दोस्रो ठूलो बनेको छ । जबकी ७० वर्षअघि नेपालको व्यापार चीनतर्फ तिब्बत स्वायत्त क्षेत्रसँग नगण्य मात्रामा हुन्थ्यो ।
राष्ट्र बैंकले चिनियाँ युआनलाई अमेरिकी डलर, बेलायती पौण्ड, युरो सन् २००२ देखि विनिमय सूचीमा राखेपछि मात्रै दुबै मुलुकका व्यापारी, विद्यार्थी तथा पर्यटकले चिनियाँ युआनमा कारोबार गर्नसक्ने भएका हुन् ।
प्रविधिको विकाससँगै अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमा आएको परिवर्तनलाई नेपाल र चीनका बैंकहरूले पनि अवलम्बन गरेका छन् । चिनियाँ डिजिटल भुक्तानी प्रणालीका वालेटहरू विच्याट पे र अलि पेबाट पछिल्लो समय नेपालमासमेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।
गत वर्षसम्मको तथ्यांकलाई केलाउँदा चीन नेपालमा लगानी गर्ने सबैभन्दा ठूलो मुलुक बनेको छ । आर्थिक वर्ष २०८०/८१ को जेठसम्म चिनियाँ व्यवसायीले नेपालमा दुई खर्ब २४ अर्ब रूपैयाँभन्दा बढी विदेशी मुद्रा नेपालको विभिन्न क्षेत्रमा लगानी गरेका छन् । उक्त रकम दुई हजार ४४८ वटा व्यवसाय तथा परियोजनामा लगानी रहेको उद्योग विभागको प्रतिवेदनमा उल्लेख छ ।
(नेपाल–चीन मिडिया फोरमद्वारा प्रकाशित ‘सुमधुर सम्बन्धका ७० साल’ बाट)












प्रतिक्रिया दिनुहोस्