Skip to content

काठमाडौं महानगरपालिकामा आर्किटेक्टको अभाव, पर्याप्त आवेदन परेन

nabil
global ime

काठमाडौं । काठमाडौं महानगरपालिकाको श्रम बैंकमा करिब पाँच हजारको आवेदन परे पनि आर्किटेक्ट इञ्जिनियरको भने आवश्यक सङ्ख्या नपुगेको जनाएको छ ।

कामपाले गत भदौमा सीप भएका बेरोजगार जनशक्तिलाई श्रम बैङ्कमा आवद्ध हुन माग गरेको सूचनाअनुसार अहिलेसम्म चार हजार सात सय ७० जनाको आवेदन परेको कामपा श्रम बैङ्कका ‘फोकल पर्सन’ पवनकुमार ठाकुरले जानकारी दिए । उनका अनुसार आर्किटेक्ट इञ्जिनियरको सङ्ख्या अत्यन्तै कम रहेको छ ।

फोकल पर्सन ठाकुरका अनुसार अहिलेसम्म आर्किटेक्ट इञ्जिनियर थोरैको सङ्ख्यामा आएकामा आएकामध्ये अधिकांश काममा लागिसकेका छन् । ‘कामपालाई आर्किटेक्ट इञ्जिनियर तत्कालका लागि १७ जना आवश्यक छ । त्यसका लागि कामपाले पुनः सार्वजनिक सूचना निकालेको छ’, उनले भने, ‘अन्य कामदारहरु मागभन्दा धेरै आएका छन् भने आर्किटेक्ट इञ्जिनियर अत्यन्त न्युन सङ्ख्यामा आएका छन् ।’

कामपाले आर्थिक वर्ष २०८०र८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैङ्क सञ्चालन गर्ने नीति लिएको थियो । सोहीअनुसार महानगरले आवेदन माग गरेको थियो । ‘यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मतसम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउनेलगायत क्षेत्रमा काम गर्ने जनशक्तिको सूचीकरण हुनेछ’, फोकल पर्सन ठाकुरले भने ।

श्रम बैङ्कमा आएकामध्येबाट अहिले ६ सय छनोट गरी काममा खटाइएको छ । आवश्यकता र मागअनुसार अन्यलाई पनि काममा खटाउने तयारी गरिरहेको कामपाले जनाएको छ । आवेदन दिनेमध्ये सबैभन्दा धेरै सरसफाइको क्षेत्रमा काम गर्ने जनशक्ति रहेको कामपाले जनाएको छ ।

‘बेरोजगारका लागि एउटा आधार तयार गरिदिने उद्देश्यले श्रम बैङ्कमा श्रमिकलाई आवद्ध गराइएको हो’ फोकल पर्सन ठाकुरले भने, ‘कामपाले तयार गरेको श्रम बैङ्कमा श्रमिकको नाम हुन्छ । जहाँ श्रमिकको ज्यालादर, कामको प्रकार, सम्पर्क नम्बर र श्रमिकको ठेगानालगायत विवरण उल्लेख गरिएको हुन्छ ।’

सोही विवरणका आधारमा आवश्यकता परेमा जनशक्ति उपलब्ध गराउन सकिने व्यवस्था छ । चालु आर्थिक वर्षका लागि काम गर्न इच्छुक व्यक्तिले आफूले आवेदनमा काम गर्न चाहेको कामको विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्रलगायत विवरण भर्नुपर्नेछ । आवेदन फाराममा विभिन्न ६४ प्रकारका काम उल्लेख गरिएका छन् । फाराम आफू बसेको वडामा अथवा कामपाको रोजगार सेवा केन्द्रमा बुझाउनुपर्ने छ । श्रम बैङ्कमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि काठमाडौँमा बसोबास भएको हुनुपर्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima