काठमाडौं । यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका विमानस्थल तथा हवाई क्षेत्र प्रयोग नगर्न हवाई सेवा कम्पनी र यात्रुहरूलाई चेतावनी दिएका छन्। साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घातक आक्रमणपछि हुथी समूहले यस्तो चेतावनी दिएको हो।
शनिबार किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा १२ जनाको मृत्यु भएको थियो भने ३०० भन्दा बढी घाइते भएका थिए। आक्रमणमा विभिन्न देशका नागरिकले ज्यान गुमाएको साउदी नागरिक उड्डयन प्राधिकरणले जनाएको बीबीसी समाचारमा उल्लेख छ ।
प्राधिकरणका अनुसार मृत्यु हुनेमा चार जना साउदी नागरिक, दुई जना बंगलादेशी नागरिक तथा अमेरिका, जोर्डन, प्यालेस्टाइन, सिरिया, सुडान र इजिप्टका एक–एक जना नागरिक रहेका छन्।
यसअघि आइतबार जारी विज्ञप्तिमा हुथी समूहले बिहीबार सोही विमानस्थलमा भएका अन्य आक्रमणको जिम्मेवारी आफूले लिएको दाबी गरेको थियो। यद्यपि, शनिबार भएको घातक आक्रमणबारे भने समूहले विज्ञप्तिमा प्रत्यक्ष रूपमा केही उल्लेख गरेको छैन।
विमानस्थलमा भएको आक्रमण र त्यसपछि आएको चेतावनीले साउदी अरेबियाको हवाई सुरक्षामाथि थप चिन्ता बढाएको छ। हुथी समूहको चेतावनीपछि साउदी हवाई क्षेत्र प्रयोग गर्ने विमान सेवा कम्पनी र यात्रुहरूको सुरक्षालाई लिएर चासो बढ्न सक्ने देखिएको छ।









प्रतिक्रिया दिनुहोस्