काठमाडौं । नेपाल सरकारका पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालले ‘नेपालमा सार्वजनिक लगानीको सुदृढीकरण: प्राथमिकता र रणनीतिहरू’ विषयमा प्रस्तुतिकरण दिएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उले नेपालको सार्वजनिक लगानीलाई उत्पादनमूलक, प्रतिफलमुखी र प्राथमिकतामा आधारित बनाउनुपर्नेमा जोड दिएका हुन ।
सरकारले सबै क्षेत्रमा आफैँ लगानी गर्नेभन्दा पनि आधारभूत पूर्वाधार निर्माण, मानव पुँजी विकास र निजी क्षेत्रको लगानी प्रवद्र्धनमा केन्द्रित हुनुपर्नेमा उनको जोड थियो । अर्यालले कृषि, पर्यटन, ऊर्जा, सूचना प्रविधि तथा साना र मझौला उद्योग लगानीका सम्भावित क्षेत्र भएको उल्लेख गर्दै कृषिमा निर्वाहमुखी प्रणालीबाट व्यावसायिक उत्पादनतर्फ रूपान्तरण, प्रविधिको प्रयोग, भण्डारण तथा आपूर्ति प्रणालीको विकास आवश्यक रहेको उल्लेख गरेका छन् । त्यस्तै पर्यटन क्षेत्रमा ब्रान्डिङ, प्याकेजिङ र खर्चालु पर्यटक आकर्षित गर्ने रणनीति आवश्यक रहेको उनको भनाइ थियो ।
पूर्वमुख्यसचिव अर्यालले सार्वजनिक संस्थानको लगानी र व्यवस्थापनमा समेत पुनरावलोकन गर्नुपर्ने धारणा राखेका छन्। नेपालका ४५ सार्वजनिक संस्थानमध्ये १६ वटा घाटामा रहेको तथ्य प्रस्तुत गर्दै उनले संस्थानको रणनीतिक महत्तव र कार्यसम्पादनका आधारमा वर्गीकरण गर्नुपर्ने सुझाव दिए । कमजोर अवस्थामा रहेका संस्थानलाई व्यवस्थापन करार, निजीकरण वा खारेजीमध्ये उपयुक्त विकल्पमार्फत व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै, सरकारले उत्पादनमूलक क्षेत्रमा अनुदान तथा सहुलियत उपलब्ध गराउँदा उत्पादनमा आधारित प्रणाली अपनाउनुपर्ने र भविष्यमा सरकार तथा सार्वजनिक संस्थानमाथि दायित्व थपिने गरी लगानी तथा अनुदान वितरण गर्न नहुनेमा उनले जोड दिए ।
सार्वजनिक लगानी प्रभावकारी बनाउन सरकारको भूमिकामा तीनवटा पक्षबाट सुधार गर्नुपर्ने उनको सुझाव छ । “पहिलो, कम हस्तक्षेपसहित प्रभावकारी सरकारको अवधारणा अवलम्बन गर्ने, दोस्रो, क्षेत्रगत तथा आयोजनागत प्राथमिकता निर्धारण गर्ने र तेस्रो, शासन प्रणालीमा व्यापक सुधार गर्नु आवश्यक छ”, उनले भने ।









प्रतिक्रिया दिनुहोस्