Skip to content

माग्दीको हिलापोखरीमा सिँचाइ आयोजनाको पक्की नहर

म्याग्दी । म्याग्दीको धौलागिरी गाउँपालिका–७ हिलापोखरीमा सिँचाइ आयोजना निर्माण भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले उपभोक्ता समितिमार्फत हिलापोखरीमा सिँचाइआयोजना निर्माण गरेको हो । उपभोक्ता समितिका अध्यक्ष रमेश पौडेलले तीन सय ६० मिटर लामो पक्कि नहर निर्माण गरिएको जानकारी दिए ।

‘च्युरीबोट स्थित घट्टेखोला हुँदै पच्चिस मुरेसम्म तीन सय ४९ मिटर पक्कि नहर बनाउने लक्ष्य रहेकोमा सोभन्दा बढी बनाएका छौं,’ उनले भने, गत वैशाख महिनादेखि थालिएको नहर निर्माणको काम यसै साता सकिएको हो ।’ यस योजना निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । आयोजनामार्फत पक्कि नहरको अतिरिक्त ४८ मिटर पाइपलाइन जडान गरिएको छ ।

उपभोक्ता समितिका सचिव फिरोज घर्ती मगरले स्थानीय मजदुर परिचालन गरेर सिँचाइआयोजना निर्माण गरेको जानकारी दिए । २० घरधुरीभन्दा बढी कृषकको २ सय रोपनी बढी खेतबारी र बगैंचामा सिँचाइ गर्न सहज भएको छ । यसअघि खोल्साको पानी कच्ची नहरबाट बगाउँदा चुहिने र भासिने समस्या थियो । सिँचाइ अभावमा आकाशे पानीको भरमा एक बाली मात्र लगाउने गरिएको थियो । सिँचाइ सुविधा भयो भने बाह्रै महिना खेती लगाउन सकिने भएको छ ।

खानेपानी जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दी मार्फत चालु आर्थिक वर्ष म्याग्दीमा ६० सिँचाइ आयोजना सञ्चालन भएको कार्यालय प्रमुख झलकमोहन ओझाले बताए । बादुक र घारेनी कोत्रवाङ सिँचाइ आयोजनाको बहुवर्षीय ठेक्का आव्हान गरेको र अन्य आयोजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T