Skip to content
Prabhu

पूर्व गृहमन्त्री बादलका छोरा प्रतीक थापा पक्राउ

काठमाडौं । पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका उनलाई प्रहरीले काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो ।

भुटानी शरणार्थीको समस्या समाधान गर्न भन्दै मन्त्रालयले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यदलको प्रतिवेदनमै नक्कली नामहरु घुसाएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास भएको थियो । त्यसक्रममा थापाले बिचौलियाको भूमिका निभाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

यसमा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, राईका छोरा निरज राई, तत्कालीन उर्जामन्त्री एवं हालका एमाले सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी पनि जोडिएका थिए । तर, बादल गृहमन्त्री भएका बेला कार्यदलको प्रतिवेदनमा बिचौलियाको सूचीअनुसारको नामहरु थप्न नसकेपछि बालकृष्ण खाँण गृहमन्त्री भएका बेला प्रतिवेदन नै किर्ते गरेर नेपाली युवालाई भुटानी शरणार्थी बनाउने प्रयास भएको थियो ।

बादल गृहमन्त्री भएका बेला प्रतीक केही समय स्वकीय सचिव समेत बनेका थिए । प्रतीकलाई आइतबार अदालतमा पेस गरिने भएको छ । भोलि शनिबार सार्वजनिक बिदा भएकाले आइतबार उनलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal