काठमाडौं । कीर्तिपुर अस्पतालमा उपचाररत अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको भेटघाटमा अस्पतालले रोक लगाएको छ ।
अस्पतालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अर्को सूचना नआएसम्म भेटघाट बन्द गरिएको जानकारी गराएको छ । ‘मन्त्री पौडेल र मेयर आचार्यको अवस्था सामान्य भए तापनि संक्रमण हुने भएकाले हाललाई भेटघाट पूर्ण रूपमा बन्द गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
मन्त्री पौडेल र मेयर आचार्यको अवस्था सुधारोन्मुख रहेको र आज घाउको ड्रेसिङ गरिने अस्पतालले जनाएको छ । पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा हाइड्रोजन बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य शनिबार घाइते भएका थिए ।
मन्त्री पौडेलको हात र अनुहारमा जलन बढी छ भने आचार्यको अनुहारमा जलन भएको छ । दुवैको फोक्सोमा धुवाँ छिरेकाले सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्