Skip to content

पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई राहत रकम प्रदान

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँटको पहिरोमा परेर ज्यान गुमाएकाको परिवार र घाइतेलाई राहत रकम प्रदान गरिएको छ ।

वाटर इनर्जी डेभलपमेन्ट कम्पनीको आयोजनास्थलमा गत साउन १३ गतेको भीषण पहिरोमा परेर ज्यान गुमाएकाको परिवार र घाइतेलाई आयोजनाको तर्फबाट पहिलो किस्ताको राहत रकम उपलब्ध गराइएको छ ।

धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारका अनुसार गाउँपालिकाको पहलमा कम्पनीसँग प्रतिमृतक तीन लाख र घाइतेलाई छ लाख रुपैयाँ दुई किस्ता गरेर उपलब्ध गराउने सहमति भएको थियो, सोही सहमति बमोजिम मृतकको परिवारलाई पहिलो किस्ताको राहत रकम प्रतिमृतक एक लाख ५० हजार रुपैयाँ र घाइतेलाई तीन लाख रुपैयाँ उपचार खर्च सोमबार उपलब्ध गराइएको हो ।

कम्पनीका कर्मचारीसमेत भएकाले मृतक रमेश गुरुङको परिवारलाई भने कम्पनीले राहतबाहेक थप रु सात लाख दिने सहमतिअनुसार पहिलो किस्ताको तीन लाख ५० हजार रुपैयाँ पनि प्रदान गरिएको प्रशासकीय अधिकृत सुनारले जानकारी दिए । कम्पनीले बाँकी रकम दोस्रो किस्तामा उपलब्ध गराउने उनको भनाइ छ । गएको गत साउन १३ गते रेसेफाँटको पहिरोमा परेर एकै परिवारका तीन जनासहित पाँच जनाले ज्यान गुमाएका थिए ।

गाउँपालिका र कम्पनीबीच गत पुस २५ गते बैठक बसेर मृतकका परिवार र घाइतेलाई राहत रकम उपलब्ध गराउने सहमति भएको थियो । पहिरोमा परी घाइते हुनुभएका दिलीप गुरुङलाई गाउँपालिकाको तर्फबाट सामेबार नै एक लाख रुपैयाँ राहत उपलब्ध गराएको प्रसासकीय अधिकृत सुनारले जानकारी दिए। गाउँपालिकाले भने मृतकका परिवारलाई यसअघि नै राहत रकम उपलब्ध गराइसकेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T