Skip to content

बैंकबाट बाहिरिँदै पुराना संस्थापक लगानीकर्ता, बीमा कम्पनीले ३७.८४ प्रतिशतले बढाए लगानी

nabil bank

काठमाडौं । बैंकिङ क्षेत्रले संस्थापक लगानीकर्तालाई दिने लगानी माथिको प्रतिफल (आरओई) घट्दै गएपछि बैंकिङ क्षेत्रबाट धमाधम पुराना संस्थापक लगानीकर्ता बाहिरिने क्रम बढ्दो छ । बैंकिङ क्षेत्रबाट पुराना संस्थापक लगानीकर्ता बाहिरिँदा बीमा कम्पनीहरुले भने लगानी बढाउँदै गएका छन् ।

पछिल्लो केही वर्षयता बैंकको आरओई घटेर एकल अंकमा हुँदा पुराना संस्थापक सेयरधनीहरु निरास बनेका  छन् । गत आवको चौथो त्रैमाससम्म बैंकको आरओई औसत ९.९६ प्रतिशतमात्र रहेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकहरुको आरओई अझ कम रहेको थियो । अघिल्लो आवको तुलनामा आरओई केही बढेको भए पनि अझै एकल अंकमा छ ।

बीमा प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा बैंकिङ क्षेत्रमा बीमा कम्पनीहरुले बैंकिङ क्षेत्रको संस्थापक सेयरमा गरेको लगानी ३७.८४ प्रतिशतले बढाएका छन् । प्रतिशतका आधारमा गत आवमा बैंकिङ क्षेत्रमा सबैभन्दा धेरै संस्थापक सेयर खरिद निर्जीवन बीमा कम्पनीहरूले गरेका छन् । निर्जीवन बीमा कम्पनीले एक वर्षमा बैंकको संस्थापक सेयरमा लगानी ८३.९८ प्रतिशतले बढाएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार एक वर्षको अवधिमा जीवन बीमा कम्पनीले बैंकको संस्थापक सेयरमा लगानी ३२.२४ प्रतिशतले बढाएका छन् ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आउँदा जीवन बीमा कम्पनीले बैंकिङ क्षेत्रको संस्थापक सेयरमा १८० अर्ब ६३ करोड २९ लाख रुपैयाँ लगानी गरेका छन् भने निर्जीवन बीमा कम्पनीले यस्तो सेयरमा लगानी २६ अर्ब ८ करोड ८२ लाख रुपैयाँ पुर्याएका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्म सबैभन्दा धेरै वाणिज्य बैंकको संस्थापक सेयर खरिद गर्ने जीवन बीमा कम्पनी एसियन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीले ३७ अर्ब ९४ करोड ९१ लाख रुपैयाँ बराबरको बैंकको संस्थापक सेयर खरिद गरेको छ ।

यसैगरी, बैंकको संस्थापक सेयर धेरै भएको दोस्रो लाइफ इन्स्योरेन्स कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । यस कम्पनीले २४ अर्ब ५० करोड ५१ लाख रुपैयाँ बराबरको बैंकको संस्थापक सेयर खरिद गरेको बीमा प्राधिकरणले जनाएको छ ।

यसैगरी, नेपाल लाइफ इन्सोरेन्स कम्पनीले ३१ अर्ब ७१ करोड ७४ लाख रुपैयाँ बराबरको बैंकको संस्थापक सेयर खरिद गरेको छ भने नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १६ अर्ब ५१ करोड ४९ लाख रुपैयाँ बराबरको बैंकको संस्थापक सेयर खरिद गरेको छ ।

यसैगरी, गत आवको असार मसान्तसम्म आउँदा सबैभन्दा धेरै बैंकको संस्थापक सेयर खरिद गर्ने निर्जीवन बीमा कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीले १२ अर्ब २० करोड ६२ लाख रुपैयाँ बराबरको बैंकको संस्थापक सेयर खरिद गरेको छ । यसैगरी, हिमालयन शिखर इन्स्योरेन्स कम्पनीले ३ अर्ब १४ करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्स कम्पनीले २ अर्ब १२ करोड रुपैयाँ बैंकको संस्थापक सेयर खरिद गरेका छन् ।

यसैगरी, एक अर्ब रुपैयाँभन्दा धेरै यस्तो सेयर खरिद गर्ने निर्जीवन बीमा कम्पनीमा आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, ओरिएन्टल इन्सोरेन्स कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनी रहेका छन् । यस अवधिसम्म ४ निर्जीवन बीमा कम्पनीले कुनै पनि बैंकको संस्थापक सेयर खरिद गरेका छैनन् ।

पछिल्लो समय बीमा कम्पनीहरूले वाणिज्य बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर मा लगानी बढाइरहेका छन् । बीमा व्यवसाय आफैँमा दीर्घकालीन दायित्व र स्थायित्वमा आधारित हुने भएकाले यसले सुरक्षित र स्थिर आम्दानी दिने क्षेत्र रोज्ने गर्दछ। संस्थापक सेयरको स्वरूप पनि स्थिर र नियमित लाभांशमुखी हुने भएकाले बीमा कम्पनीहरूले यसलाई प्राथमिकतामा राखेका हुन्।

बीमा प्राधिकरणले तोकेको लगानी नीति अनुसार बीमा कम्पनीहरूले आफ्ना कोषलाई विविध क्षेत्रमा विभाजन गर्नुपर्ने व्यवस्था छ। जसको कारण पनि बीमा कम्पनी बैंकको संस्थापक सेयर खरिदमा चासो देखाएको पाइन्छ । पछिल्ला वर्षहरूमा बैंकासुरेन्स प्रणाली विस्तार भइरहेका छन् । जसअन्तर्गत बैंकमार्फत बीमा बिक्री गर्ने अभ्यास बढ्दै गएको छ। यस्तो अवस्थामा बैंकको संस्थापक सेयर खरिद गर्नु बीमा कम्पनीका लागि रणनीतिक दृष्टिकोणले राम्रो हुने देखिन्छ ।

 

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life