काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, यी नै तीन नेताका कारण देशले आज खर्बौं खर्बको क्षति ब्यहोरेको छ ।
उनीहरुको विरोधमा जेनजीको नाममा भएको आन्दोलनमा अराजकताले तीननेताले देशलाई २० वर्षमा पुर्याउन नसकेको क्षति एक दिनमा भयो। पुनःदेशमा अराजकताले सम्पूर्ण प्रणालीलाई सकायो ।
यी तीन नेताले पटक–पटक राज्यसत्ता सञ्चालन गर्न खोज्दा, सधैं आफूलाई शक्तिको केन्द्रमा राख्न खोज्दा, युवापुस्तालाई रोक्न खोज्दा देउवाको विकल्प ओली, ओलीको विकल्प देउवा, ओली र देउवाको विकल्प खोज्नु परेमा प्रचण्ड । दशकौंदेखि यी नै तीन जनाको वरिपरि राष्ट्रिय राजनीति घुमिरह्यो । परिस्थितिजन्य कारणबाहेक एकले अर्कोलाई स्विकारेनन् । नेतृत्व दोस्रो वा तेस्रो तहमा जान दिएनन् ।
यी नेताले जनताको भावना बुझेनन् । कार्यकर्ताले बजाएको तालिमा रमाइरहे । यही सल्लाहकारले सल्लाह दिएका थिए भने त्यस्तो सल्लाहमा आफ्नो जिद्दीपन कायमै राखे । लामो समयदेखि युवाहरूले अवसर खोजिरहेका थिए । ज्योतिषीले भनेको छ, शक्तिकेन्द्रको सहयोग छ, सात पटक प्रधानमन्त्री हुनुपर्छ भन्दै नेताहरू हिँडे ।
फलस्वरुप युवाको निराशा बढ्दै गयो । माओवादीले १० वर्ष गरेको जनयुद्धमा कब्जा गर्न नसकेको राज्यसत्ता कब्जा जेनजी आन्दोलनले २७ घण्टाको अवधिमा कब्जा गर्यो ।
देशको प्रधानमन्त्री हतार–हतार भाग्नुपर्यो । मन्त्रीहरूको भागाभाग भयो । प्रमुख शक्तिशाली दलका नेताले, बहालवाला परराष्ट्र मन्त्रीले जनताको कुटाइ खानुपर्यो । यो सबै यी नै तीन दलले सृजना गरेको विकृत राजनीतिको परिणाम हो । यति मात्रै होइन, ३४ जना लक्का जवान युवाले देशको नाममा ज्यान फाल्नुपर्यो । हजारभन्दा बढी घाइते भए ।
राज्यको खर्बौं क्षति भयो । राष्ट्रको संघीय राजधानीमा रहेको प्रमुख प्रशासकीय भवन सिंहदरबारमा आगो लगाए । प्रहरीको धेरै कार्यालयध्वस्त बनाए । नेता, मन्त्रीका घरमा आगो लगाए, गभर्नरको घर छोडेनन् । ज्यानजीले निजी क्षेत्रलाई निसाना बनाए । जेनजी ध्वस्त बनाए । बहुराष्ट्रिय कम्पनी पनि छोडेनन् । यसले नेपालमा तत्काल मात्रै नभएर दीर्घकालमा समेत ठूलो क्षति पुग्ने नै छ । नेपालमा लगानी गर्न विदेशीलगानीकर्ताले धेरै चासो नदेखाएको परिवेशमा तीन दिन भएको जेनजीको आन्दोलनले नेपालमा कसले लगानी गर्छ ? अहिलेको परिवेश देखेरभएका लगानीकर्ता पनि अब नेपालमा लगानी गर्नु हो र ? भन्ने प्रश्न गर्न थालिसकेका छन् ।
एकै छिनको आक्रोसले देशलाई खर्बौं खर्ब नोक्सानभयो । भाटभटेनी २१ वटा स्टोरमा आन्दोलनकारीले क्षति पुर्याएका छन् । १२ वटामा पूर्ण आगजनी गरेका छन् । हिल्टन होटल पुरै ध्वस्त भयो ।वर्णबासलाई पनि आन्दोलनकारीले बाँकी राखेनन् । चौधरी ग्रुपअन्तर्गत सिजी डिजिटलदेखि गाडीको शोरुम, टाटा गाडीको शोरुममा छानिछानी तोडफोड गरे । उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शेखर गोल्छा, उद्योगी विनोद चौधरीको घरमा समेत तोडफोड गरे ।
उद्योगीको घरमा समेत क्षति पुर्याएपछि अब उनीहरुले कसरी लगानी गर्लान ? यो देखेर कसरी विदेशी लगानीकर्ता नेपालमा भित्रेलान् ? अहिले यो प्रश्न निजी क्षेत्रमा बढ्दो छ । निजी क्षेत्रमा पुगेको क्षति कतिपय अवस्थामा बीमाले पनि समेटन सक्ला । तर, सरकारी संरचना ?
जब संकट आइपर्छ, तब मात्रै सिंहदरबारको बीमाको कुरा उठ्यो । सरकारी संरचनाको बीमाको कुरा उठ्यो । तर, कुनै राजनीतिक नेतृत्व, मुख्यसचिव, कर्मचारी तन्त्रले पनि बीमा गर्न, गराउन चाहेन । जे नहुनुभयो, नजल्नु सिंहदरबार, सरकारी संरचना जले । तर, बीमा भइदिएको भए…? सबै विषय भावनामा मात्रै जोडिदैन, वित्तीय दायित्व पनि सँगै सृजित भएर आउँछ । समयमा नै ध्यान दिन नसक्दा राज्यले ठूलो नोक्सानी ब्यहोर्नुपरेको छ ।
यतिबेला नेताहरुले गरेको गल्तीको सजाय पाए । त्यो सजाय मृत्यु भएका ३४ नवजवान युवाको अगाडि भने केही होइन । तर, अब सम्हालिनुको विकल्प छैन । अब सम्हालिने भन्दैमा भएका सबै घटनालाई बिर्सन मिल्दैन । राजनीतिक दलले गरेको राजनैतिक क्षति मात्रै होइन, आन्दोलनका नाममा उद्योगी, व्यवसायी, व्यापारीलाई क्षति पुर्याउनेले पनि कारबाही भोग्नै पर्छ । अब निजी क्षेत्रले पनि आफूलाई लागेको चोटलाई मलमपट्टी गर्दै समुन्नत समाज निर्माणमा योगदान दिनुपर्छ ।
नेपाल उद्योग वाणिज्य महासंघले यही बीचमा विज्ञप्ति जारी गर्दै सामाजिक न्यायसहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेर मात्र उच्च ज्यालासहितको मर्यादित रोजगारी सम्भव रहेको जनाएको छ। आर्थिक गतिविधि चलायमान बनाउन र मुख्य पर्यटकीय समयमा नेपालबाट सकारात्मक सन्देश विश्वभर प्रवाह गर्न सबैले संयमित भएर सम्वादर सहकार्यका माध्यमबाट समृद्धि तर्फको यात्रा तय गर्नुपर्ने जनाएको छ ।
आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकारलगायत सम्पूर्ण सबै राजनीतिक दलहरु एवं जेनजी पुस्तामा अपिल गर्दै युवाहरुको चाहनाअनुरुप नागरिकको सरकारी सेवामा सहज र मर्यादित पहुँच, स्वतन्त्र भएर पेशा व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता संगै लगानी एवंरोजगारी प्रबर्द्धनका लागि उपयुक्त वातावरण सिर्जना गरी समुन्नत समाज निर्माणमा योगदान पुर्याउन महासंघ सरोकारवाला सबैमा आग्रह गरेको छ ।
यस्तै नेपाल चेम्बर अफ कमर्शले आन्दोलनका क्रममा भएको जनधनको ठूलो क्षतिले देशमा थप निराशा फैलाउने, औद्योगिक तथा व्यावसायिक वातावरण खल्बल्याउने र लगानीमैत्री वातावरणमा प्रतिकूल असर पार्ने भएकाले सबै सरोकारवाला पक्ष संयमित बनेर निकास खोज्नुपर्नेमा जोडदिएको छ । आगामी दिनमा यस्ता खाले घटना दोहोरिन नदिन सरोकारवाला पक्ष र जेनजी पुस्ताका युवाहरूलाई संवाद र रचनात्मकसहकार्यमार्फत दीर्घकालीन समाधान खोज्न चेम्बरले आह्वान गरेको छ । मुलुकको समग्र विकासमा सबै पक्षको सक्रिय सहभागिता अपरिहार्यरहेको धारणा चेम्बरले व्यक्त गरेको छ ।
संघ–संस्था मात्रै नभएर निजी क्षेत्रका विभिन्न व्यक्तिले अर्थतन्त्र जोगाउन आह्वान समेत गरेका छन् । सिटिजन्स बैंकका अध्यक्ष प्रवलजंग पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल हिजो साँझ देखिसन्चालन भैसकेको छ । आज बिहानदेखि बिदेशी बिमानहरु पनि नियमित तालिका अनुसार अवतरण भइ रहेका छन् । वित्तीय संस्थाहरु पनिसञ्चालन हुँदैछन् । अत्यावश्यक वस्तुको उत्पादन र बिक्री वितरण गर्ने व्यवसायहरु धमाधम सन्चालन भइरहेका छन् ।
बिस्तारै व्यवसायलाईनियमित गर्दै सर्वसाधारण जनतामा दैनिक उपभोग्य वस्तुलाई कमी हुन नदिऔ, अहिले प्रशासन सक्रिय छैन, कालोबजारी हुन नदिन सम्पूर्णवाणिज्य संघ र सम्बन्धित वस्तुगत संघले सर्कुलर गरौ र अनुगमन पनि गरौ । पहिला स्थानिय निकाय नहुँदा हाम्रा जिल्ला उद्योग वाणिज्यसंघहरुले नै जनतामा सेवा पुर्याएका स्मरण गर्न चाहन्छु । जिल्ला जिल्लामा सप्लाई चेन म्यानेजमेन्ट गर्न र कालोबजारी रोक्न जिल्ला उद्योग वाणिज्य संघबाट शसक्त भूमिका खेलौ, जनजीवन सहज बनाऔ, अर्थतन्त्र जोगाऔं ।
यस्तै, नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (एनसीआईसीके)ले देशको शान्ति, स्थिरता र आर्थिक पुनरुत्थानमा सहकार्य गर्न प्रतिबद्ध रहेको जनाएको छ । युवा पुस्ताले उठाएका मागप्रति संवेदनशील रहँदै देशको शान्ति सुरक्षा, नागरिकको सेवामा सहज पहुँच, स्वतन्त्र पेशा–व्यवसाय गर्ने अधिकारको सुनिश्चितता तथा भष्ट्राचारमुक्त प्रणाली, लगानी र रोजगारीको प्रबर्द्धन तथा सुरक्षाका लागि उपयुक्त वातावरण निर्माणमार्फत समुन्नत समाज बनाउन सबै सरोकारवालालाई एकताबद्ध हुन आह्वानसमेत गरेको छ ।






प्रतिक्रिया दिनुहोस्