काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले देशको अवस्था क्रमशः सामान्य हुँदै गएको बताएका छन्। उनले ‘जेनजी आन्दोलन’पछि कानुनी शासन कमजोर बनेको भए पनि अहिले त्यसलाई पुनःस्थापना गर्न सरकार सफल बन्दै गएको दाबी गरेका हुन्।
मन्त्री अर्यालले अर्थतन्त्रको जगेर्ना गर्नु निजी क्षेत्रको दायित्व भएको उल्लेख गर्दै भने, “जेनजी आन्दोलनपछि बाँकी रहेको सम्पत्तिको जगेर्ना गर्दै जानु अहिलेको आवश्यकता हो।”
उनका अनुसार जेनजी आन्दोलनका क्रममा २११ संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए भने ४२७ वटा निजी संरचनामा क्षति पुगेको थियो। सो आन्दोलनमा संलग्न रही क्षति पुर्याउनेलगायत करिब १५० जनामाथि आपराधिक उपद्रवका मुद्दा दर्ता गरिएको पनि उनले जानकारी दिए।
मन्त्री अर्यालले अघिल्ला मन्त्री र अहिलेका मन्त्रीबीचको व्यवहार तुलना गर्न आग्रह गर्दै वर्तमान सरकारले कानुनी शासन र स्थायित्वका लागि दृढताका साथ काम गरिरहेको उल्लेख गरे।
उनका अनुसार सरकारको प्रयासमा हालसम्म ७१० वटा हतियार फिर्ता भइसकेका छन् भने केही हतियार अझै बाहिर रहेको छ। जेनजी आन्दोलनमा ४९ हजार कैदीबन्दी फरार भएका मध्ये हालसम्म ६५ प्रतिशत मात्रै फिर्ता भएका र बाँकी ५ हजार १०५ जना अझै फरार रहेको उनले जानकारी दिए।
मन्त्री अर्यालले अन्त्यमा निजी क्षेत्रलाई सुरक्षाको भरपर्दो वातावरण उपलब्ध गराउन गृह मन्त्रालय सधैं तयार रहेको पुनः पुष्टि गरे।






प्रतिक्रिया दिनुहोस्