काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले चिया निर्यातमा देखिएको अवरोध हटाउन कुटनतिक पहल गर्न सरकारसँग माग गरेको छ ।
भारतीय चिया बोर्डले गत मे १ देखि लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ्ग प्रोसिज’ (एसओपी) र प्रत्येक खेपमा अनिवार्य परीक्षण गर्ने अव्यवहारिक मापदण्डका कारण नेपाली चिया निर्यातमा उत्पन्न भएको गम्भीर अवरोध र यसले समग्र चिया उद्योग क्षेत्रमा परेको समस्या समाधानको लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
नेपालको चिया क्षेत्र कृषि, उद्योग, निर्यात तथा रोजगारीका दृष्टिले अत्यन्त महत्वपूर्ण र रणनीतिक क्षेत्रको रूपमा स्थापित रहेको छ । नेपाल चिया उत्पादक संघबाट प्राप्त पछिल्लो वस्तुस्थिति र मागहरूलाई मध्यनजर गर्दै महासंघ चिया क्षेत्रको रक्षाका लागि तत्काल ठोस कूटनीतिक र नीतिगत कदम चाल्न नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग जोडदार माग गरेको छ ।
नेपालको चिया क्षेत्र राष्ट्रिय अर्थतन्त्र र ग्रामीण रोजगारीको एक बलियो खम्बा हो । यस क्षेत्रले वार्षिक करिब १२ देखि १४ अर्ब रुपैयाँ बराबरको कारोबार गर्दै वार्षिक ५ अर्ब रुपैयाँभन्दा बढीको चिया भारत तर्फ निर्यात गरी मुलुकको व्यापार घाटा न्यूनीकरणमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ ।
६० हजारभन्दा बढी कर्मचारी तथा मजदुरहरूलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको र राज्यलाई वार्षिक करिब १ अर्ब रुपैयाँ राजस्व बुझाउने यो क्षेत्र हाल छिमेकी मुलुकको अव्यवहारिक नीतिगत परिवर्तनका कारण बन्द हुने अवस्थामा पुगेको छ ।
छिमेकी देशले लागू गरेको नयाँ मापदण्ड अन्तर्गत झन्झटिलो गुणस्तर परीक्षण, रिपोर्ट आउन लाग्ने २० देखि २५ दिनको लामो अवधि, अनिवार्य गोदाम शुल्क र रिपोर्ट कमजोर आएमा चिया नै नष्ट गर्नुपर्ने जस्ता अव्यवहारिक नियमहरूका कारण निर्यात ठप्प भएको छ ।
चिया निर्यात हुन नसक्दा उद्योगहरूको नगद प्रवाह रोकिएको छ, जसका कारण उद्योगहरूले किसानलाई हरियो पत्तीको भुक्तानी गर्न, मजदुरको पारिश्रमिक दिन र राज्यलाई कर तथा विद्युत महशुल बुझाउन समेत असमर्थ भएका छन् ।
साथै नेपाली वस्तुहरुको निर्यातमा आउने गुणस्तरसंग सम्बन्धित अवरोधहरु हटाउन नेपालमा मान्यता प्राप्त प्रयोगशाला स्थापना आवश्यक रहेको जनाएको छ । यस विषयमा महासंघले लामो समयदेखि नेपाल सरकार समक्ष मान्यता प्राप्त प्रयोगशाला स्थापनाका लागि माग गर्दै आएको छ ।
नेपाली वस्तुहरुको निर्यातको गुणस्तरमा देखिने समस्याहरुको दीर्घकालिन समाधानको लागि मान्यता प्राप्त प्रयोगशाला स्थापनाका लागि आवश्यक पहल गर्न समेत सरकार समक्ष आग्रह गर्दछ ।
यस अवस्थामा चिया क्षेत्रलाई जोगाउन चिया क्षेत्रमा आश्रित हजारौँ किसान, मजदुर र उद्यमीहरूको भविष्यसँग जोडिएको यस संवेदनशील विषयलाई सरकारले उच्च प्राथमिकतामा राखी तत्काल कुटनीतिक ढंगबाट निकास निकाल्न महासंघले सरकारसंग आग्रह गरेको छ ।












प्रतिक्रिया दिनुहोस्