भरतपुर । चितवनको सफल सामाजिक उद्यमी महिला सहकारी संस्थाले ‘चन्द्रसूर्य’ नामक बेसार ब्रान्ड सार्वजनिक गरेको छ ।
महिला नेतृत्वमा सञ्चालित उद्यमहरूलाई सबल बनाउने, कृषि उपजको मूल्य अभिवृद्धि गर्ने तथा साना किसानका लागि दिगो बजारको अवसर सिर्जना गर्ने उद्देश्यसहित उक्त ब्रान्डको शुभारम्भ गरिएको हो ।
‘चन्द्रसूर्य’ बेसार सफल सामाजिक उद्यमी महिला सहकारीमा आबद्ध महिला उद्यमी तथा किसानहरूको सामूहिक प्रयासको प्रतिफल हो । ब्रान्डमार्फत उपभोक्तालाई उच्च गुणस्तरको बेसार उपलब्ध गराउने, स्थानीय उत्पादकहरूको आम्दानी वृद्धि गर्ने तथा बजार पहुँच विस्तार गर्ने लक्ष्य राखिएको सहकारीले जनाएको छ ।
सहकारीका अनुसार ‘चन्द्रसूर्य’ ब्रान्डले नेपालको स्थानीय कृषि मूल्य शृङ्खलालाई सुदृढ बनाउनुका साथै गुणस्तरीय नेपाली कृषि उत्पादनको उत्पादन र बजारीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
हेफर नेपालले महिला नेतृत्वका उद्यमीहरू र साना किसानहरूको जीविकोपार्जनमा सुधार ल्याउन सहकारीलाई निरन्तर सहयोग गर्दै आएको जनाएको छ । ‘चन्द्रसूर्य’ ब्रान्डको सुरुवातले महिला नेतृत्वका सहकारीहरू उत्पादनसँगै कृषि अर्थतन्त्रको बढी मूल्य प्राप्त हुने क्षेत्रमा पनि सक्रिय रूपमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
हेफर नेपालका राष्ट्रिय निर्देशक, डा. तिर्थ राज रेग्मीले भने, ‘चन्द्रसूर्यको शुभारम्भले महिला किसान र सहकारी सदस्यहरूको नेतृत्व, उद्यमशीलताको भावनालाई उजागर गरेको छ । यसले सामूहिक प्रयास र बजारसँगको प्रभावकारी पहुँचमार्फत ग्रामीण समुदायका लागि दिगो आर्थिक अवसरहरू सिर्जना गर्न सक्ने सम्भावना देखाएको छ ।’
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भने, ‘चन्द्रसूर्यको शुभारम्भ महिलाको नेतृत्वमा सञ्चालित सहकारीहरुले उद्यमशीलता र मूल्य अभिवृद्धिमार्फत स्थानिय अर्थतन्त्रको विकासमा महत्वपूर्ण योग्दान दिन सक्ने प्रेरणादायी उदाहरण हो । जब, किसानहरू उत्पादनभन्दा अगाडि बढेर आफ्नै ब्राण्ड निर्माण गर्छन्, उनीहरूले आफ्नो उत्पादनबाट बढि लाभ लिन सक्छन् । समुदायका लागि नयाँ अवसरहरू सिर्जना गर्छन् । बागमती प्रदेश सरकार ग्रामीण उद्यमको विकास गर्न, स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न र आर्थिक रूपान्तरणमा महिलाको नेतृत्वलाई सशक्त बनाउन सधैं प्रतिबद्ध छ ।”
बागमती प्रदेशकी सहकारी मन्त्री बिनु रायमाझीले किसान, सहकारी, विकास साझेदार र निजी क्षेत्रको संयूक्त उत्पादन चन्द्रसूर्य एक उदाहरण भएको बताइन् । ‘मूल्य अभिवृद्धि र बजार पहुँचमा लगानी गरेर हामीले कृषि समुदायलाई दीर्घकालीन फाइदा पुर्याउने उद्यमहरू निर्माण गर्न सक्छौँ’ उनले भनिन् ।









प्रतिक्रिया दिनुहोस्