Skip to content

उद्यमी–व्यवसायीको घर, कार्यस्थलमा छापा मार्ने काम गतिलो होइन: पूर्वअर्थमन्त्री खनाल

काठमाडौं । पूर्वअर्थमन्त्री रामेश्वर खनालले उद्यमी–व्यवसायीको घर, कार्यस्थलमा छापा मार्ने काम गतिलो नभएको बताएका छन् ।

उनले आज सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो बताएका हुन् । “उद्यमी–व्यवसायीको घर, कार्यस्थलमा छापा मार्ने काम गतिलो होइन” उनले फेसबुकमा लेखेका छन् ।

पछिल्लो समय सरकारले निजी क्षेत्रमाथी अन्धाधुन्ध रुपमा छापा मार्ने नाममा आतंक सृजना गर्ने गरेको छ । त्यसको चौतर्फी रुपमा आलोचना हुन थालेको छ ।
पूर्वमन्त्री खनालले समेत सरकारको यो गतिविधिलाई रुचाएका छैनन् ।
आजै सरकारले विराटनगरका उद्योगी बेनीगोपाल मुन्दडाको निवासमा प्रहरी अपरेसन गरेको थियो । ठूलो संख्यामा प्रहरी परिचालन गरेर गरिएको खानतलासीमा कुनै पनि गैरकानुनी सामग्री फेला परेन ।

विशेष सूचनाको आधारमा बिहानैदेखि मुन्दडा निवासमा पुगेको प्रहरी टोलीले घरको विस्तृत खानतलासी गरेको थियो। जिल्ला प्रहरी कार्यालय मोरङ, वडा प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । अपरेसनमा एक दर्जनभन्दा बढी प्रहरीका सवारीसाधन प्रयोग गरिएको थियो।

प्रहरीले करिब साढे चार घण्टासम्म मुन्दडा निवासमा खोजतलासी गरेको थियो। तर कुनै पनि शंकास्पद वा गैरकानुनी सामग्री फेला नपरेको प्रहरीले जनाएको छ ।

घटनापछि जिल्ला प्रहरी कार्यालय मोरङले विज्ञप्ति जारी गर्दै गैरकानुनी वस्तु लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा कानुनी प्रक्रिया पूरा गरी खानतलासी गरिएको जनाएको छ । विज्ञप्तिमा खोजतलासका क्रममा सूचनाअनुसारको कुनै पनि गैरकानुनी सामग्री फेला नपरेको उल्लेख गरिएको छ। यद्यपि, घटनासम्बन्धी अनुसन्धान भने जारी रहेको प्रहरीको भनाइ छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T