काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी सन् २०२७ अप्रिल २ र ३ तारिखमा काठमाडौंमा ‘अर्थशास्त्र तथा वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना गर्ने भएको छ । अर्थशास्त्र तथा वित्त क्षेत्रका समसामयिक तथा जल्दाबल्दा विषयमा विश्वभरका नीति–निर्माता, वित्तीय क्षेत्रका अभ्यासकर्ता तथा अनुसन्धानकर्ताबीच गहन छलफल गराउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
सम्मेलनको मुख्य नारा ‘आर्थिक वृद्धि र बृहत्–वित्तीय स्थायित्वः जोखिम र चुनौतीहरू’ तय गरिएको छ। सम्मेलनमा आर्थिक वृद्धि तथा विकास, अन्तर्राष्ट्रिय व्यापार, वित्त तथा लगानी, बृहत्–वित्तीय अन्तरसम्बन्ध, वित्तीय स्थायित्व तथा मौद्रिक नीति र वित्तीय नवप्रवर्तन तथा उत्थानशीलतासम्बन्धी विषयलाई प्राथमिकतामा राखिएको छ ।
त्यस्तै, राष्ट्र बैंकको कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित केन्द्रीय बैंक डिजिटल मुद्रा (सीबीडीसी), आर्टिफिसियल इन्टेलिजेन्स (एआई), वित्तीय प्रविधि (फिनटेक) तथा हरित वित्त लगायतका विषयमा आधारित अनुसन्धानमूलक कार्यपत्रलाई समेत विशेष प्राथमिकता दिइने राष्ट्र बैंकले जनाएको छ।
सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्न इच्छुक अनुसन्धानकर्ताले सन् २०२७ जनवरी ३१ भित्र पूर्ण कार्यपत्र इमेलमार्फत पठाइसक्नुपर्नेछ । राष्ट्र बैंकका अनुसार कार्यपत्रको सारांश मात्र स्वीकार गरिने छैन। पेश गरिने कार्यपत्र मौलिक तथा यसअघि अन्यत्र प्रकाशित नभएको हुनुपर्नेछ । प्राप्त कार्यपत्रलाई विज्ञ समूहबाट ‘पियर–रिभ्यु’ गराई उत्कृष्ट कार्यपत्र छनोट गरिनेछ। स्वीकृत भएका कार्यपत्रबारे सन् २०२७ फेब्रुअरी २० मा जानकारी गराइने राष्ट्र बैंकले जनाएको छ।
सम्मेलनमा कार्यपत्र प्रस्तुतकर्ता वा सहभागीका रूपमा भाग लिन कुनै पनि दर्ता शुल्क लाग्ने छैन । इच्छुक व्यक्तिले सन् २०२७ मार्च ३ भित्र अनलाइन फाराम भरी दर्ता गर्नुपर्नेछ । सम्मेलनमा स्वीकृत भएका सबै कार्यपत्र राष्ट्र बैंकको वेबसाइटमा ‘कन्फरेन्स प्रोसिडिङ्स’ का रूपमा प्रकाशित गरिने केन्द्रीय बैंकले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्