Skip to content

सन सेक्युरिटिजको ३० दिने सेयर सिमुलेसन प्रतियोगिता सम्पन्न, अच्छुर्णा काफ्ले प्रथम

काठमाडौं । सन सेक्युरिटिज प्रालिले मनीमेज इस्लिङ्टन कम्युनिटीको सहकार्यमा इस्लिङ्टन कलेजका विद्यार्थीका लागि आयोजना गरेको ३० दिने शेयर सिमुलेसन प्रतियोगिता सम्पन्न भएको छ ।

भदौ ८ गते २०८३ देखि सुरु भएको उक्त प्रतियोगिता ३० दिनसम्म सञ्चालन भएको थियो । विद्यार्थीलाई सेयर बजारको व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सहभागीहरूले सिमुलेसन प्लेटफर्ममार्फत सेयर खरिद–बिक्री गर्दै बजारको गतिशीलता, लगानी निर्णय, जोखिम व्यवस्थापन तथा लगानी पोर्टफोलियो व्यवस्थापनसम्बन्धी ज्ञान हासिल गरेका थिए ।

प्रतियोगिताको अवधिभर विद्यार्थीहरूले सेयर बजारका गतिविधि तथा विभिन्न कम्पनीको प्रदर्शनको अध्ययन र विश्लेषण गर्दै लगानी तथा कारोबारसम्बन्धी निर्णय लिएका थिए । यसबाट विद्यार्थीमा शेयर बजारप्रतिको व्यावहारिक बुझाइ विकास हुनुका साथै सैद्धान्तिक ज्ञानलाई व्यवहारिक अभ्याससँग जोड्न सहयोग पुगेको कम्पनीले जनाएको छ ।

प्रतियोगिताको अन्तिम नतिजाअनुसार अच्छुर्णा काफ्लेले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन् । उनले रु। २५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै, अरुण भण्डारी प्रथम उपविजेता बन्दै १५ हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् भने सोनु कुमारले द्वितीय उपविजेता हुँदै १० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

युवा पुस्तामा वित्तीय साक्षरता, लगानीसम्बन्धी ज्ञान तथा पूँजी बजारप्रतिको व्यावहारिक बुझाइ अभिवृद्धि गर्ने उद्देश्यले सन सेक्युरिटिजले यस्ता शैक्षिक तथा व्यावहारिक कार्यक्रमलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।

कम्पनीका अनुसार सेयर सिमुलेसनजस्ता कार्यक्रमले विद्यार्थीलाई वास्तविक रकम लगानी नगरी सेयर बजारको व्यवहार बुझ्न, लगानी रणनीति बनाउन तथा लगानीसम्बन्धी निर्णय क्षमता विकास गर्न सहयोग पुर्‍याउँछ ।

प्रतियोगिता सफल बनाउन सहयोग तथा सहकार्य गरेकोमा सन सेक्युरिटिजले इस्लिङ्टन कलेज र मनीमेज इस्लिङ्टन कम्युनिटीप्रति आभार व्यक्त गरेको छ । साथै, प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीलाई धन्यवाद दिँदै विजेता अच्छुर्णा काफ्ले, प्रथम उपविजेता अरुण भण्डारी तथा द्वितीय उपविजेता सोनु कुमारलाई बधाई दिएको छ ।

सन सेक्युरिटिजले आगामी दिनमा पनि विद्यार्थी तथा युवा पुस्तालाई लक्षित गर्दै वित्तीय साक्षरता, पूँजी बजार शिक्षा तथा व्यावहारिक लगानी ज्ञान अभिवृद्धि गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima