Skip to content

महासंघ निर्वाचनः संघाई र सुरकृष्णको नाममा सहमति हुन सकेन, ढकाल समूह उत्साहित

बरिष्ठ उपाध्यक्षमा भरत आचार्यलाई अघि सार्ने ढकालको योजना

nabil bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको यो पटकको निर्वाचन मौरीको रानीबिनाको छटपटजस्तै देखिएको छ।

महासंघले चैत २९ र ३० गते ६०औँ साधारणसभा बोलाएको छ, जसले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ। विधानअनुसारयसपटक बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वचालित रूपमा तीन वर्षका लागि अध्यक्ष बन्ने भएका छन्। अध्यक्षबाहेक अन्य पदका लागि भने निर्वाचन हुनेछ।

अध्यक्षमा प्रत्यक्ष प्रतिस्पर्धा नहुने र बरिष्ठ उपाध्यक्षको निर्वाचन अप्रत्यक्ष हुने भएपछि विगतका वर्षहरूजस्तो चुनावी रौनक देखिएको छैन। यो पटक चुनावको मुख्य उत्साह वस्तुगत समूहमै सीमित छ। वस्तुगत उपाध्यक्षमा शिव घिमिरे र नरेशलाल श्रेष्ठ प्रतिस्पर्धाका प्रमुख दावेदारको रूपमा देखिन्छन् । उनीहरूले पछिल्ला दुई वर्षदेखि नै चुनाव केन्द्रित गतिविधि गर्दै आएका कारण वस्तुगत क्षेत्रमा मात्र चुनावी माहोल देखिएको हो । अन्य पदहरूमा भने खासै तयारी वा उत्साह देखिँदैन ।

यसको मुख्य कारण भनेको अबको तीन वर्षपछि महासंघले अध्यक्ष प्रत्यक्ष निर्वाचनमार्फत चयन गर्ने हो । अहिलेको जस्तो “बरिष्ठ उपाध्यक्ष स्वचालितरूपमा अध्यक्ष” हुने व्यवस्था संशोधन भइसकेको छ। त्यसैले तीन वर्षपछि अध्यक्ष बन्ने प्रतिस्पर्धा बलियो बनाउन अहिले नै विभिन्न समूहले प्रभाव बढाउने र टिम निर्माणको काम सुरुआत गरेका छन्।

ढकाल समूह पूर्ण रूपमा तयार

बरिष्ठ उपाध्यक्षका दावेदार हेमराज ढकालले आफ्नो टिम लगभग पूर्ण रूपमा तयार पारेका छन् । टिममा एशोसियट उपाध्यक्ष: ज्योत्सना श्रेष्ठ पुनः प्रतिस्पर्धा गर्न लागेकी छिन् ।  जिल्ला–नगर उपाध्यक्ष: उमेश डालमिया र कल्पना गैरे, वस्तुगत उपाध्यक्ष: नरेशलाल श्रेष्ठ र महिला उपाध्यक्ष: कमला श्रेष्ठ छन् ।

ढकाल समूहले आधिकारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेको छ । हेमराज ढकालले कार्यकाल पूरा गर्दै गरेका अध्यक्ष चन्द्र ढकालकोसमर्थन पनि पाउने आशा व्यक्त गरेका छन्। तर चन्द्र ढकालले यसपटक पनि कुनै समूहमा औपचारिक रूपमा नखुल्ने र सहमतिकै प्रयास गर्ने बताएका छन् । सहमति भए बरिष्ठ उपाध्यक्षमा भरत आचार्यलाई अघि सार्ने योजना चन्द्र ढकालको छ ।

अञ्जन समूहमा टुंगो लागेन

अब अध्यक्ष बन्ने अञ्जन श्रेष्ठको समूहमा बरिष्ठ उपाध्यक्षका उम्मेदवार चयन मै अड्किएको छ ।बरिष्ठ उपाध्यक्षका दावेदारहरु रामचन्द्र संघाई र सुरकृष्ण वैद्य छन् ।  एशोसियट उपाध्यक्षमा प्रवलजंग पाण्डे,वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरे, जिल्ला–नगर उपाध्यक्षमा दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्माले प्रतिस्पर्धा गर्नेछन् । अञ्जन समूहले उम्मेदवारीको घोषणा सोमबार गर्ने तयारी गरेको छ । अहिलेसम्म बरिष्ठ उपाध्यक्षको टुंगो लागेको छैन ।

गत चुनावमा धेरैजसो पूर्वअध्यक्षको समर्थन नहुँदा पनि टिम सफलतापूर्वक जितेका अञ्जन श्रेष्ठ यसपटक भने संघाईलाई बरिष्ठ उपाध्यक्ष बनाउने पक्षमा छैनन् । संघाई अघिल्लो पटक बरिष्ठ उपाध्यक्षमा तेस्रो स्थानमा आएका थिए । दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने क्रममै उमेशलाल श्रेष्ठले नाम फिर्ता लिएपछि अञ्जन श्रेष्ठ विजयी हुँदै वर्तमान अध्यक्ष बन्ने बाटो खुलेको थियो ।

अञ्जनले यसपटक आफू अध्यक्ष भएपछि मतदाता कार्यकारिणी सदस्य नै हुने भएकाले त्यही संरचना बनेपछि मात्र बरिष्ठ उपाध्यक्ष टुंगो लगाउने बताए पनि संघाईलाई अघि सार्ने सम्भावना निकै कमजोर देखिन्छ ।

अञ्जनले संघाईलाई अघि नसारेमा संघाई नजिक रहेका ठूला केही व्यवसायी हेमराज ढकालको पक्षमा उभिने मनस्थितिमा छन् । एक व्यवसायीले भने,“टिम बनाउने स्वतन्त्रता अञ्जनजीलाई छ, तर सुरकृष्णको पक्षमा हामी उभिन सक्ने अवस्था छैन । यस्तो भए हाम्रो समर्थन हेमराज ढकालतर्फ जान्छ।”

अञ्जन समूहमा बढ्दो विवादले हेमराज समूह भने झनै उत्साहित देखिन्छ । एक व्यवसायीका अनुसार, “अहिलेसम्म हेमराजको टिममा विवाद छैन । विवाद त अञ्जनको टिममै बढी देखिएको छ, त्यसैले हामी उत्साहित छौँ।”

यही विवादकैबीच केही व्यवसायी अञ्जन समूहबाट हटेर हेमराज समूहमा समेत प्रवेश गरिरहेका छन्। विगतमा एशोसियट उपाध्यक्ष प्रवलजंग पाण्डेको टिमबाट प्रतिस्पर्धा गर्ने तयारी गरेका होटल मेची क्राउनका सञ्चालक बलराम सापकोटाले समेत टिम परिवर्तन गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi