काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको नाफा साढे ३० करोड पुगेको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार ३० करोड ५३ लाख ९३ हजार रुपैयाँ नाफा आर्जन गरेको हो ।
कम्पनीले चालु आर्थिक वर्षमा आर्जन गरेको खुद नाफा गत आवको तुलनामा १५.८६ प्रतिशले बढी हो । गत आवको सोही अवधिमा कम्पनीको नाफा २६ करोड ३६ लाख १२ हजार रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४९ करोड ६० लाख १९ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ९.०५ प्रतिशत बढी हो । गत आवको सोही समयमा अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ४५ करोड ४८ लाख ५१ हजार रुपैयाँ थियो ।
कम्पनीको मुख्य आयोजनाको रुपमा रहेको ४२ मेगावाटको मिस्ट्री खोला आयोजनाको विद्युत उत्पादन २०८१ जेठ १५ देखि २०८१ साउन २० गतेसम्म बन्द रहेको थियो । बाढीका कारण मुख्य आयोजनाको उत्पादन पहिलो त्रैमासमा २० दिन बन्द हुँदा पनि कम्पनीको खुद नाफा बढेको छ । यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब २६ करोड ३२ लाख रहेको छ । कम्पनीको रिटेन अर्निंङ १ अर्ब ३३ करोड रहेको छ । गत आवको आर्थिक वर्षको यसै अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ९६ करोड ८० लाख थियो ।
यस अवधिमा कम्पनीको वार्षिकीकरण नगरिएको प्रतिसेयर आम्दानी १३.३९ रुपैयाँबाट बढेर १३.४९ रुपैयाँ पुगेको छ । वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी भने ५३.९६ रुपैयाँ हुन आउंछ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ७७ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्