Skip to content

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन । भरतपुर महानगरपालिकाले सुरु गरेको भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको पोखरा(भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले पहिलो चरणमा बसेनीदेखि गोन्द्राङसम्म भूमिगत तारबाट विद्युत् प्रसारणको काम सम्पन्न गरिसकेको छ ।

आयोजना प्रमुख इन्जिनियर आनन्द सुवेदीले सम्झौताअनुसार ७० प्रतिशत काम सम्पन्न भएपनि सोचेजस्तो काम हुन नसकेको बताउनुभयो । आगामी एक साताभित्र ११ केभिए लाइन जडान भएका पाँचवटा फिडरसमेत भूमिगत तवरबाट सञ्चालनको तयारी गरिएको छ ।

पछिल्लो सम्झौताअनुसार भरतपुर महानगरपालिकाभित्र चनौली लाइन जडानका लागि भरतपुर महानगरको मुख्य सहरी क्षेत्रमा विद्युतीकरण भूमिगत गरिने उनले जानकारी दिए । उनले भने, ‘बसेनीदेखि भरतपुर महानगरपालिका अगाडिसम्म, आँपटारीदेखि पोखरा बसपार्कसम्मको सडक र केन्द्रीय बस ट्रमिनलदेखि गोन्द्राङसम्मको सडक थपिएको छ ।’

केन्द्रीय बस टर्मिनलदेखि गोन्द्राङसम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने भनिए पनि अहिले थप गरी ११ केभिए र चार सय भोल्टको लाइनलाई भूमिगत गरिने उनले बताए।

भरतपुरको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन र बाइपास सडकमा भूमिगत गर्न थालिएकोमा अहिले नयाँ क्षेत्र र बजेट दुवै थप गरिएको इन्जिनियर सुवेदीले जानकारी दिए । उनका अनुसार भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्न १ अर्ब ४० करोड रुपैयाँ लागत लाग्ने छ । सुरुमा १ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

तार भूमिगत गर्ने कामको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले लिएको थियो । ठेक्का सम्झौताको म्याद सन् २०२४ को जनवारी २० मा सकिएसँगै पुनः आठ महिनाका लागि म्याद थप गरी काम अघि बढाइएको छ । एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो । महानगरका सहरी क्षेत्रमा हावाहुरीका कारण धेरै समस्या हुने गरेको छ । तार भूमिगत भएसँगै यो समस्या हट्ने र सहरी क्षेत्रको सौन्दर्यता बढ्ने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal