Skip to content

समाचारप्रति कुलमान घिसिङको ध्यानाकर्षण

काठमाडौं । बिगत केही दिनदेखि केही सञ्चार माध्यमबाट मप्रति लक्षित गरी सुनियोजित रुपमा निरन्तर समाचार सम्प्रेषण र सोही समाचारका आधारमा सामाजिक सञ्जाललगायतमा भइरहेका टीकाटिप्पणीहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
पत्रकारिताको सिद्धान्त, मूल्य र आचारसंहितको उल्लङ्घन गर्दै मेरो र मेरो परिवारका सदस्यहरु (मुख्य रुपमा दाइ र भाइ) को चरित्रहत्या, मानप्रतिष्ठा र छविमा आघात पुर्याउने उद्देश्यले सुनियोजित रुपमा दूषित मनसायका साथ कपोकल्पित ढङ्गले भ्रमपूर्ण रुपमा समाचारहरु सम्प्रेषण गरिएका छन् ।
निष्ठासाथ आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई हतोत्साहित बनाउन सुनियोजित रुपमा निहीत स्वार्थकासाथ यस्ता समाचारहरु सम्प्रेषण भइरहेको मेरो ठम्याइ रहेको छ । यस्ता समाचारको भ्रममा नपर्न यसै विज्ञप्तिमार्फत सबैलाई अनुरोध गर्दछु ।
अंशवण्डा गरी लामो समयदेखि मबाट छुट्टै बसिरहेका मेरा दाइ र भाइले नेपालको संविधान र ऐन कानुनले दिएको हकअधिकार प्रयोग गरी स्वतन्त्र रुपमा आफ्नो व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन् । के मेरा दाइ र भाइले स्वदेशमै व्यापार व्यवसाय नगरी विदेशिनु पर्ने हो ?
मैले आफ्नो पदीय दुरुपयोग गरी मेरा दाइ र भाइले सञ्चालन गरिरहेको व्यापार व्यवसायलाई फाइदा पुग्ने कुनै पनि कार्य नगरेको प्रष्ट पार्न चाहान्छु । यदि मैलै त्यस्तो गरेको पाइएमा राज्यका निकायहरुले छानबिन गर्ने नै छन् ।
प्रचलित कानुनको परिधिभित्र रहेर निष्ठासाथ दिनरात एवम् आफ्नो व्यक्तिगत जीवनलाईसमेत प्रवाह नगरी अहोरात्र खटी नेपाल सरकारले दिइएको जिम्मेवारी निष्ठापूर्वक प्रतिबद्धताकासाथ पूरा गरिरहेको छु । नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमान्दारीपूर्वक जवाफदेही बनी आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई बद्नाम गराउने दुराशयकासाथ लगाइएका आरोपहरुको खण्डन गर्दछु ।
नेपाली जनतालाई सधैँ लोडसेडिङको अँध्यारोमा राख्न चाहने र त्यसबाट फाइदा लिन पल्किएको, नेपाल विद्युत प्राधिकरणको कारबाहीबाट त्रसित र संस्थाले हासिल गरेका प्रगति एवम् उपलब्धीबाट अत्तालिएको एउटा स्वार्थ समूह (जो पहिलेबाटै सक्रिय थियो) अहिले मलाई कमजोर बनाउन र मेरो मनोबल गिराउन मेरा विरुद्धमा सुनियोजित रुपमा लागिरहेको छ । प्रचलित सार्वजनिक खरिद कानुन बमोजिम गरिएका खरिद सम्झौताहरु र अन्य कतिपय असान्दर्भिक विषयहरुलाई उचाल्नुले पनि यही कुरालाई पुष्टि गर्दछ ।
नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत आपूर्ति गर्ने, संस्थालाई वित्तीय रुपमा सबल एवम् सक्षम बनाउने, विद्युत, उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाहरुको विकास तथा विस्तार गरी ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउँदै छिमेकी देशहरुसँगको विद्युत व्यापार विस्तार गर्नेबाहेक अन्य कुनै आफ्ना व्यक्तिगत नाजायज स्वार्थ नरहेको प्रष्ट पार्दछु ।
स्वच्छ र यथार्थ समाचार वा टिप्पणी शिष्ट र मर्यादित भाषामा प्रकाशित गर्नु सञ्चार क्षेत्रको दायित्व रहेता पनि मेरा विरुद्धमा आफैं न्यायिक निकायजस्तो बनी दोषी करार गर्नु निन्दनीय छ ।
नेपाल विद्युत प्राधिकरणका हरेक कामकारबाहीहरु पारदर्शी रुपमा भइरहेका छन् । र, अझै पारदर्शी रुपमा अगाडि बढाइने छ । ऊर्जा क्षेत्रका योजनाहरु कार्यान्वयन गर्ने निकायको कार्यकारी प्रमुखको रुपमा आफ्नो भूमिका अझै निष्ठापूर्वक, इमान्दार भएर पूरा गर्ने यसै विज्ञप्तिमार्फत प्रतिबद्धता जनाउँदछु ।

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal